काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ । बिहीबार बसेको त्रिवि सभाले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित उक्त बजेट स्वीकृत गरेको हो । नयाँ बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो ।
त्रिविले आर्थिक वर्ष २०८२/८३ मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट ल्याएको थियो । यस वर्ष भने बजेटको आकार करिब २ अर्ब ७४ करोड रुपैयाँले बढाइएको छ ।
सामान्यतया आर्थिक वर्ष सुरु हुनुअघि वा साउनमै बजेट सार्वजनिक गर्दै आएको त्रिविले यसपटक भने ढिलो गरी बजेट ल्याएको हो । गत असारमै नीति तथा कार्यक्रम तथा बजेट ल्याउनुपर्ने भए पनि त्रिवि सभा बस्न नसकेपछि प्रक्रिया लम्बिएको थियो ।
स्वीकृत बजेटअनुसार त्रिविको कुल आयमध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने लक्ष्य राखिएको छ । यो कुल बजेटको ४९.३८ प्रतिशत हो ।
त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँबाट बजेटको ५०.६२ प्रतिशत हिस्सा व्यहोर्ने प्रस्ताव गरिएको छ ।
त्रिविले कुल बजेटको ठूलो हिस्सा सञ्चालन खर्चमा छुट्याएको छ । प्रस्तावित बजेटमध्ये ८६.१४ प्रतिशत सञ्चालन खर्चका लागि र १३.८६ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गर्ने प्रक्षेपण गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिभुवन विश्वविद्यालयलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
त्रिविले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै विश्वविद्यालयको नियमित सञ्चालन, पूर्वाधार विकास तथा शैक्षिक गतिविधिलाई अघि बढाउने आधारका रूपमा बजेटलाई प्रस्तुत गरेको छ ।