51
त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ नियुक्ति भएको छ।
कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले प्रा. अञ्जना सिंहलाई शिक्षाध्यक्ष र प्रा. रवीन्द्र शिवाकोटीलाई रजिस्ट्रार नियुक्त गरेका हुन्।
उपकुलपतिको सिफारिसका आधारमा भएको नियुक्तिपछि सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन्।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिविका पदाधिकारीलाई पदमुक्त गरेको थियो। गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त हुन सकेका थिएनन्।
नयाँ नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको नेतृत्व संरचनाले पूर्णता पाउने भएको छ।