दुई तलाबाट हामफालेका प्रहरी : आफू जोगिए, साथी गुमाए

16 September, 2025 116 Views
दुई तलाबाट हामफालेका प्रहरी : आफू जोगिए, साथी गुमाए
116

३१ भदौ, काठमाडौं । ‘दुई तला माथिबाट हामफालेर ज्यान जोगाएँ,’ प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंका एक प्रहरी जवानले मलिनो स्वरमा भने ।

मंगलबार दिउँसो वृत्तमा पुग्दा उनी जलेर खरानी भएको कार्यालय मर्मत र सरसफाइ गरिरहेका थिए ।

जनताको सेवामा फर्किएको छु । कार्यालय खरानी भएको छ,’ जलेर रुग्ण बनेको कार्यालय देखाउँदै ती प्रहरी जवानले भने । उनको मुहारमा अझै चमक छैन । स्मृतिमा गत २३ र २४ भदौको जेन-जी आन्दोलन घुमिरहन्छ ।

आन्दोलनको दोस्रो दिन उनीसँगै अरु प्रहरीहरू कार्यालयमै थिए । कोही प्रदर्शनकारी भाला बोकेर आएका थिए । कसैको हातमा बञ्चरो थियो । गुलेलीको प्रहार त सामान्य जस्तै थियो ।

घरेलु हतियारसहति आएको ठूलो समूहले एकाएक आक्रमण गर्न थाल्यो । हामीले हात जोडेर तोडफोड र आगजनी नगर्न भन्यौं तर मानेन्,’ ती प्रहरी जवानले भने ।

गेट बाहिरबाट नाराबाजी गर्दै प्रदर्शनकारी कार्यालय भित्र छिरे । प्राङ्गणमा रहेको सवारी साधन तोडफोड र आगजनी गरे ।

त्यसपछि त्यो अराजक समूह कार्यालय भित्रै छिरेर आगजनी गर्न थाल्यो । प्रहरीको टोली सबैभन्दा माथिल्लो तलामा पुग्यो ।

तलबाट धुवाँको मुस्लो आउन थाल्यो । प्रहरीहरू चिच्याउन थाले । कोही माथिबाट हामफाल्न थाले । कोही प्रहरीको माथिल्लो निकायमा उद्धारको लागि हारगुहार गर्न थाले ।

जे पर्ला, पर्ला भनेर पाँच जनाजति प्रहरी पाँचौ तलाबाट दोस्रो तलामा झरे । र, पछाडिबाट हामफाले । कसैको खुट्टा भाँचियो । कोहीका अन्य ठाउँमा चोट लाग्यो । ‘संयोग नै भन्नुपर्छ, दोस्रो तलाबाट हाम फाल्दा पनि मलाई केही भएन । तर साथीहरूको खुट्टा भाँचियो,’ उनले त्यो कालो दिन सम्झिँदै भने, ‘२०-२२ जना जतिको समूह त पाँचौ तलामै थियो ।’

माथि रहेको प्रहरीको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

Related Post