दुर्लभ थापाको चेतावनी– ‘हामी सानेपा कब्जा गर्न जाँदैछौं’

14 August, 2026 9 Views
दुर्लभ थापाको चेतावनी– ‘हामी सानेपा कब्जा गर्न जाँदैछौं’
9

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा कब्जा गर्न जाने अभिव्यक्ति दिएका छन् । संस्थापनइतर पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले आफूहरूको पक्षमा ७५ प्रतिशत क्रियाशील सदस्य रहेको दाबी गरे ।

उनले राष्ट्रिय भेला पार्टीलाई एकताबद्ध बनाउन आयोजना गरिएको बताए । ‘पार्टी एकताबद्ध बनाउन यो भेला गरिएको हो । हामी सानेपा कब्जा गर्न जाँदैछौं,’ उनले भने, ‘७५ प्रतिशत क्रियाशील सदस्य हाम्रो पक्षमा छन्, उनीहरू नै पार्टीको जरा हुन् ।’

थापाले कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी पनि गरे ।

‘१५औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ,’ उनले भने, ‘युवाको हविगत के हुन्छ, भृकुटीमण्डपमा सिठ्ठी र ताली बजाएर आएका परजीवीहरू सानेपामा छन्, उनीहरूको के हुन्छ, हेरौँला ।’

उनले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि प्रश्न उठाए । आफूले भक्तपुरका १२ हजार क्रियाशील सदस्यको नवीकरण गरिसकेको उनको भनाइ छ ।

Related Post