काठमाडौं । कैलालीको टीकापुरका ३८ वर्षीय कल्पेश कुँवर कुनै समय लागुऔषध दुर्व्यसनमा फसेका थिए । अहिले भने उनी आफ्नै अनुभवबाट अरूलाई नशामुक्त जीवनतर्फ फर्काउने अभियानमा छन् ।
किशोरावस्थामा खेलकुदमा अब्बल कल्पेश कक्षा ९ पढ्न टीकापुर आएपछि गलत सङ्गतमा परे । बियर र चुरोटबाट सुरु भएको उनको दुर्व्यसन गाँजा तथा अन्य लागुऔषधसम्म पुग्यो । नशाका कारण पढाइ, खेलकुद र सामाजिक सम्बन्ध गुमाउँदै उनी पटक–पटक प्रहरी हिरासतमा परे ।
परिवारले सुधारको आशामा उनलाई काठमाडौँ, दुबई र भारतसम्म पठायो । तर, लामो समयसम्म नशाको लत छुटेन । परिवारलाई दिएको पीडा र आफ्नै जीवनप्रतिको निराशाले उनलाई अन्ततः सुधारको निर्णय गर्न बाध्य बनायो ।
पुनर्स्थापना केन्द्रमा एक वर्ष बसेपछि उनी नशामुक्त भए । अहिले नशा छोडेको १४ वर्ष भइसकेको छ । त्यसपछि उनले रोजगारी, विवाह र पारिवारिक जीवन पुनः स्थापित गरे ।
हाल कल्पेश टीकापुरमा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै लागुऔषध दुर्व्यसनमा परेकाहरूलाई नयाँ जीवनतर्फ फर्काउने काम गरिरहेका छन् । उनको केन्द्रबाट सुधारिएकामध्ये केहीले आफ्नै पुनर्स्थापना केन्द्रसमेत सञ्चालन गरिरहेका छन् ।
कल्पेशका अनुसार नशामुक्त भएपछि आफूले गुमाएका धेरै कुरा फर्काउन सकेका छन् । उनी विद्यालय उमेरका बालबालिकालाई दुर्व्यसनबाट जोगाउन अभिभावक र शिक्षकले उनीहरूको दैनिक गतिविधिमा ध्यान दिनुपर्ने बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लामा लागुऔषधसम्बन्धी अपराध बढिरहेका छन् । प्रहरी नायब उपरीक्षक योगेन्द्रप्रसाद तिमिल्सिनाले विद्यालय जाने उमेरका बालबालिका सेवनसँगै कारोबारमा समेत संलग्न हुन थालेको बताएका छन् ।