काठमाडौं । दसैं सुरु हुन एक साता बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा मौसममा उतारचढाव देखिएको छ। बिहान घाम लाग्ने, केही समयमै बादल लागेर भारी वर्षा हुने र फेरि मौसम खुल्ने क्रम पछिल्ला दिनमा देखिएको हो।
मौसमविद्का अनुसार अहिले मनसुनी र पश्चिमी वायुको प्रभावसँगै माथिल्लो वायुमण्डलको ट्रफ सक्रिय रहेकाले छोटो समयमा भारी वर्षा हुने अवस्था बनेको हो। विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी र पश्चिम बागमती क्षेत्रमा वर्षाको गतिविधि बढी देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहनेछ। बिहीबार र शुक्रबार केही पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
तर सक्रिय मौसम प्रणाली क्रमशः पूर्वतिर सर्दै कमजोर हुँदै जाने भएकाले आइतबारदेखि वर्षाको सम्भावना घट्दै मौसममा सुधार आउने संकेत रहेको मौसमविद्हरूले बताएका छन्।
दसैंका लागि गाउँघर फर्किने यात्रुहरूले शनिबारसम्मको मौसमलाई ध्यानमा राखेर यात्रा योजना बनाउनुपर्ने देखिएको छ।