काठमाडौँ । दसैँको समयमा यात्रुको आवागमन सहज र व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म देशभरका सवारीसाधनका लागि रुट परमिट खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवाला निकायको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।
उनका अनुसार दसैँको चापलाई ध्यानमा राख्दै सडकमा सवारी सञ्चालन गर्दा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ ।
दसैँमा राजधानीसहित विभिन्न सहरबाट ठूलो संख्यामा यात्रु गाउँघर फर्किने भएकाले यातायात व्यवस्थापन, टिकट बुकिङ, सडकको अवस्था र यात्रुको सुरक्षालाई ध्यानमा राखेर आवश्यक तयारी अघि बढाइएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुले टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी गरिएको बताए ।
दसैँ अवधिमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै सवारी सञ्चालनदेखि सडक तथा यात्रु सुरक्षासम्मका विषयमा सम्बन्धित निकायबीच समन्वय गरेर व्यवस्थापन गरिने विभागले जनाएको छ ।