काठमाडौं । दसैं नजिकिँदै गए पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुल्न सकेको छैन।
पोखरा, चितवन र भैरहवासहित केही सहज गन्तव्यमा अनलाइनमार्फत टिकट बुकिङ भइरहे पनि दुर्गम तथा यातायातका विकल्प कम भएका गन्तव्यमा बुकिङ खुलाउने मिति अझै तय भएको छैन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सरकार र व्यवसायीबीच नियमित छलफल भए पनि अग्रिम टिकट खोल्ने विषयमा सहमति भइसकेको छैन। उनका अनुसार केही दिनअघिका टिकट बिक्री भइरहे पनि दसैं सुरु भएपछि यात्राका लागि औपचारिक बुकिङ खुलाइएको छैन।
यस वर्ष दसैंमा काठमाडौं उपत्यकाबाट १० लाखसम्म यात्रु बाहिरिने अनुमान गरिएको छ। फूलपातीका दिन यात्रुको चाप सबैभन्दा बढी हुने अपेक्षा गरिएको छ।
यता, हवाई टिकट भने तीव्र रूपमा बिक्री भइरहेको छ। बुद्ध एयरका अनुसार १४ देखि १८ अक्टोबरसम्मका अधिकांश उडानका टिकट लगभग शतप्रतिशत बिक्री भइसकेका छन् भने यती एयरलाइन्सका पनि ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन्।
यसले सडक यातायातको अग्रिम बुकिङमा देखिएको अन्योलका कारण हवाई यात्रातर्फ समेत चाप बढ्न सक्ने संकेत गरेको छ।