काठमाडौं । दसैँलाई लक्षित गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्नेहरूमाथि तत्काल कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ।
मुख्यसचिवको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७५औँ बैठकले उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउन बजार अनुगमन तीव्र बनाउने निर्णय गरेको हो।
बैठकले खाद्यान्न, खाना पकाउने ग्यास, इन्धन तथा औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न आकस्मिक बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको छ।
त्यस्तै, लामो दूरीका सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कडा कारबाही गर्न ट्राफिक प्रहरी तथा सम्बन्धित नियामक निकायलाई निर्देशन दिइएको छ।
दसैँका बेला हुने यात्रुको चाप र बजारको मागलाई ध्यानमा राख्दै उपभोक्ता ठगी तथा यातायातमा हुने अनियमितता नियन्त्रण गर्ने सरकारको तयारी छ।