काठमाडौं । दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । तीमध्ये झन्डै १० लाखले सार्वजनिक यातायात प्रयोग गर्ने प्रक्षेपण छ ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सोटेनको प्राविधिक सहयोगमा तयार पारेको प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप सबैभन्दा बढी हुनेछ । फूलपातीका दिन मात्रै १ लाख १३ हजारभन्दा बढी यात्रु बाहिरिने र करिब ७ हजार ३६७ सार्वजनिक सवारीसाधन आवश्यक पर्ने देखिएको छ ।
दसैँभर यात्रु ओसार्न ४३ हजार ५७४ देखि ६५ हजार ३६१ सम्म सवारीसाधन ट्रिप आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
उपत्यकाबाट बाहिरिने सवारीको मुख्य चाप नागढुङ्गा, साँगा र फर्पिङ नाकामा पर्नेछ । नागढुङ्गाबाट मात्रै करिब ५५ प्रतिशत भार पर्ने भएकाले ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्ने देखिएको छ ।
यस वर्ष बाढीपहिरोबाट बीपी, पृथ्वी र भोटेकोशी क्षेत्रमा सडक क्षतिग्रस्त रहेकाले यात्रा थप जोखिमपूर्ण हुने आकलन गरिएको छ । सडक विभागले सम्भावित अवरोध तत्काल हटाउन ५३ वटा हेभी उपकरण तयारी अवस्थामा राख्ने भएको छ ।
यात्रुको टिकटसम्बन्धी समस्या पनि गम्भीर देखिएको छ । सर्वेक्षणमा ४३ प्रतिशतले टिकट पाउन कठिन भएको र ३० प्रतिशतले तोकिएकोभन्दा बढी भाडा तिर्नुपरेको बताएका छन् । ५२ प्रतिशत यात्रुले अनलाइन टिकटिङलाई प्राथमिकता दिएका छन् ।
समितिले लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्न, फिटनेस र चालकको मापसे/लापसे परीक्षण कडाइ गर्न तथा मुख्य सडकमा जथाभावी यात्रु चढाउने–ओराल्ने कार्य रोक्न सुझाव दिएको छ ।
दीर्घकालीन रूपमा सार्वजनिक यातायात प्राधिकरण गठन गरी डिजिटल टिकटिङ, जीपीएस र एएनपीआर क्यामेराको प्रयोग विस्तार गर्न पनि समितिले सिफारिस गरेको छ ।