काठमाडौं । देशका विभिन्न भागमा बुधबार भएका ४७ वटा विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका छन्।
प्राधिकरणका अनुसार ती घटनाबाट सात परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा दुई जनाको ज्यान गएको हो भने पाँच जना घाइते भएका छन्। विपद्का कारण करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्राधिकरणका तथ्यांकअनुसार वैशाख १ गतेयता हालसम्म देशभर दुई हजार ३६१ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन्।
यस अवधिमा चार हजार ८६९ परिवार विपद्बाट प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।