काठमाडौं । दशैँमा एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसका लागि अतिरिक्त शुल्क लाग्ने छैन, तर ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ।
यो सेवा कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र ललितपुरको हरिसिद्धिबाट बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।
संघका अनुसार एक सातासम्म सञ्चालन हुने यो व्यवस्थाबाट उपभोक्तालाई चाडपर्वमा ग्यास पाउन सहज हुने अपेक्षा गरिएको छ। एक जना उपभोक्ताले एउटा मात्र सिलिन्डर साट्न पाउनेछन्।
यद्यपि, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन्। यसले घोषित व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएकोमा प्रश्न उठाएको छ।