काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको छुट्टाछुट्टै रिट शुक्रबार दर्ता भएन। खाजा समयपछि पेस गरिएका रिटको अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो। निकटस्थ स्रोतका अनुसार प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल शुक्रबार अदालतमा उपस्थित नभएकाले पनि महत्वपूर्ण रिट दर्ता हुन नसकेको हो।
देउवा र खड्काले संस्थापन पक्षले एकलौटी रूपमा अघि बढाएको भनिएको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै रिट पेस गरेका हुन्। रिटमा महाधिवेशनसम्बन्धी निर्णय तथा प्रक्रिया बदर गर्न उत्प्रेषणको आदेश माग गरिएको छ।
सर्वोच्च प्रशासनले रिट पेस गर्ने पक्षलाई सोमबार पुनः आउन भनेको छ। दुवै जनाले आफैं उपस्थित नभई वारेसमार्फत रिट सर्वोच्च पुर्याएका थिए।
देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका थिए।