काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन लागेको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसविरुद्ध आफू मुकदर्शक भएर नबस्ने बताएका छन्।
मंगलबार अपिल जारी गर्दै देउवाले विशेष महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले एकपक्षीय रूपमा अघि बढाउन खोजिएको महाधिवेशन पार्टीको हितविपरीत हुने दाबी गरेका छन्।
‘नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले अपिलमा भनेका छन्।
कांग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन अघि बढाउन खोजिएको आरोप लगाए।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने उनको दाबी छ। सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको भन्दै उनले यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उल्लेख गरेका छन्।
देउवाले विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक नेता–कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले कांग्रेसलाई बलियो नभई कमजोर बनाउने चेतावनी दिएका छन्।
विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने प्रश्नको जवाफसमेत नेता–कार्यकर्ता र जनताले अझै नपाएको उनको भनाइ छ।
आफूलाई कुनै पद वा जिम्मेवारीप्रति व्यक्तिगत लोभ नभएको स्पष्ट पार्दै देउवाले पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनको सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको दाबी छ।
उनले सहमति र सहकार्यबाट पार्टीभित्रको विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै विशेष महाधिवेशन अघि बढाउने प्रयास भए त्यसको प्रतिवाद गर्ने संकेत गरेका छन्।