उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

11 October, 2026 95 Views
उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
95

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार उपसभापति (खुला) तर्फ भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले ७१२ मत पाएका छन्। त्यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरी ६१५ मतसहित अग्रस्थानमा छन्। जीवन परियारले ५७८ मत प्राप्त गरेका छन्। त्यस्तै, सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उदयशमशेर राणा ७८६ मतसहित दोस्रो स्थानमा छन् भने अमरसिंह पुन मगरले ६९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

निर्वाचन समितिका अनुसार डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला पन्तले ९६५ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। उनका निकट प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत पाएकी छन्। यी दुई उम्मेदवारबीचको मतान्तर १३ रहेको छ। त्यस्तै, रीता खनालले २५१ मत प्राप्त गरेकी छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

Related Post