उद्धव थापाको कारबाहीमा कमल थापाको फरक मत

20 August, 2026 11 Views
उद्धव थापाको कारबाहीमा कमल थापाको फरक मत
11

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णयप्रति असहमति जनाएका छन्।

बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कमल थापाले उद्धव थापामाथि गरिएको कारबाही हतारमा र जबरजस्ती गरिएको आरोप लगाए।

उनका अनुसार कारबाहीअघि घटनाको विस्तृत छानबिन गरी विगतका कमजोरीसमेत अध्ययन गर्न निष्पक्ष समिति गठन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेका थिए। तर, केही नेताहरूले पूर्वतयारीसहित आएर बागमती प्रदेश संसदीय दलका नेता थापालाई कारबाही गर्ने निर्णय गरेको उनको भनाइ छ।

‘निष्पक्ष रूपमा अध्ययन गरेर समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरौँ भन्ने हाम्रो आग्रह थियो,’ कमल थापाले भने, ‘तर केही साथीहरूले बागमती प्रदेश संसदीय दलका नेतालाई कारबाही गर्ने निर्णय जबरजस्ती गरे।’

कारबाहीको निर्णयमा आफू सहित केही नेताले लिखित रूपमा फरक मत राखेको उनले जानकारी दिए। उनका अनुसार आफूहरूले ‘नोट अफ डिसेन्ट’ समेत दर्ता गरेका छन्।

कमल थापाले पार्टीको विधान, विगतका अभ्यास र भएका कमजोरीको समग्र समीक्षा गर्न निष्पक्ष छानबिन समिति आवश्यक रहेको दोहोर्‍याए।

बागमती प्रदेश संसदीय दलले सरकार गठनका विषयमा केन्द्रको निर्देशन पर्खिए पनि समयमै स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यको निर्णयअनुसार अघि बढेको उनले दाबी गरे।

पार्टी आफैं संकटमा रहेका बेला नेता तथा कार्यकर्तामाथि ‘हैकमवादी शैली’मा कारबाही गर्दै जाने हो भने संगठन थप कमजोर र ध्वस्त हुने चेतावनीसमेत कमल थापाले दिएका छन्।

 
 
 

Related Post