विराजभक्तले दाबी फिर्ता लिएपछि स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

26 June, 2026 70 Views
विराजभक्तले दाबी फिर्ता लिएपछि स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति
70
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वर्तमान अर्थमन्त्रीसमेत रहेका वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्।
उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ स्वयम् वाग्लेको प्रस्तावक बसेर नयाँ नेतृत्व चयनमा पार्टीभित्र आन्तरिक एकता र सहमतिको बलियो सन्देश दिएका छन्। 
रास्वपाको परिमार्जित विधान अनुसार पार्टीको केन्द्रीय समितिमा एक सभापति, दुई उपसभापति (एक महिला अनिवार्य), एक महामन्त्री र तीन सह-महामन्त्री रहने व्यवस्था छ। यसअघि पार्टी सभापति पदमा रवि लामिछाने पनि एकल उम्मेदवारीका कारण निर्विरोध निर्वाचित भइसकेका छन्।
 शीर्ष नेतृत्व तहका मुख्य पदहरू सहमतिमै निर्विरोध टुङ्गिए पनि विधान बमोजिमका अन्य बाँकी पदाधिकारी तथा सदस्य पदका लागि भने निर्वाचनको आन्तरिक प्रक्रिया अगाडि बढिरहेको छ। वाग्लेको यो सर्वसम्मत चयनलाई रास्वपाले वैकल्पिक राजनीतिक शक्ति बन्ने यात्रामा सांगठनिक सुदृढीकरण र नीतिगत नेतृत्वको महत्वपूर्ण सुरुवातका रूपमा लिएको छ।

Related Post