विदेशबाट युवालाई फर्काउने योजना कहाँ पुग्यो ? आङ्देम्बेको रविमाथि प्रश्न

12 August, 2026 6 Views
विदेशबाट युवालाई फर्काउने योजना कहाँ पुग्यो ? आङ्देम्बेको रविमाथि प्रश्न
6

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाका लागि रोजगारी र स्वदेशमै अवसर सिर्जना गर्न नसकेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै आङ्देम्बेले जेनजी आन्दोलन र त्यसपछि भएको निर्वाचनबाट युवासहितका नागरिकले परिवर्तनको अपेक्षा गरेको बताए। तर, सरकारले उनीहरूको अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाइ छ।

उनले जेनजीले माग गरेको रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने योजना कहाँ पुगेको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

आङ्देम्बेले चुनावअघि विदेशका विभिन्न सहरमा पुगेर सरकार बनेको १०० दिनभित्र नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर अभियान चलाउने घोषणा गरिएको कुरा पनि सम्झाएका छन्। उनले सत्तारूढ दलका नेतृत्वले गरेको उक्त घोषणा अझै पूरा नभएको बताए।

सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि विदेशबाट एक जना युवालाई समेत स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ। यसले युवामा फेरि निराशा बढ्न थालेको उनले बताएका छन्।

उनले देशमै स्वरोजगार भएका गणेश नेपालीदेखि विवेक मण्डलसम्मका युवाले गरेको आत्मदाहका घटनालाई निराशाको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

आङ्देम्बेले युवालाई केवल चुनावमा मत दिने समूहका रूपमा नभई देश निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा हेर्नुपर्ने बताए। विदेशबाट फर्किएका युवाको सीप, ज्ञान, प्रविधि र पुँजीलाई स्वदेशमै उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति ल्याउनुपर्ने उनको सुझाव छ।

उनले तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

Related Post