काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार दिन आवश्यक कानुनी र प्राविधिक तयारी अघि बढाउने भएको छ। शुक्रबार निर्वाचन आयोगमा आयोजित निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) को मस्यौदा तथा निर्वाचन सुधारसम्बन्धी छलफलमा यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनेबारे छलफल भएको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको कार्यक्रममा विगतका निर्वाचनमा देखिएका समस्या समाधान गर्ने, निर्वाचन व्यवस्थापन सुधार गर्ने तथा प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा समेटिएका नयाँ व्यवस्थाबारे प्रस्तुतीकरण र छलफल गरिएको आयोगले जनाएको छ।
गृहमन्त्री गुरुङले विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई समेत मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था विधेयकमा समेट्न आयोगलाई आग्रह गरे। उनले यसका लागि आवश्यक प्राविधिक तयारीसमेत तत्काल अघि बढाउन आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतालाई थप मजबुत बनाउँदै मतदाताको चाहनाअनुसार निर्वाचन प्रणालीमा सुधार गर्न आयोग सक्रिय रहेको बताए।
उनका अनुसार निर्वाचन सुधारका लागि कानुनी, संस्थागत र प्राविधिक तयारी सुरु भइसकेको छ। आवश्यक स्रोतसाधन र जनशक्ति सरकारले उपलब्ध गराउने विश्वाससमेत उनले व्यक्त गरे।
छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले निर्वाचन सुधारका विभिन्न पक्षमा धारणा राखेका थिए। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ तथा आयोगका निमित्त सचिव नारायणप्रसाद भट्टराई पनि सहभागी थिए।