काठमाडौं । सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गर्दै यात्रुवाहक तथा मालवाहक सवारीको प्रतिकिलोमिटर भाडा निर्धारण गरेको हो।
विभागका अनुसार तराईमा २५० किलोमिटरभन्दा लामो दूरीको पक्की तथा ग्राभेल सडकमा यात्रुवाहक सवारीको भाडा प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ तोकिएको छ।
काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा भाडा निर्धारण गरिएको विभागले जनाएको छ।
डिलक्समा २० र सुपर डिलक्समा थप २० प्रतिशत शुल्क
विभागका अनुसार डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप शुल्क लिन सक्नेछन्। सुपर डिलक्स सवारीसाधनले भने डिलक्स भाडादरमा थप २० प्रतिशत रकम जोड्न पाउनेछन्।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट अनिवार्य
विभागले विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई तोकिएअनुसार सहुलियत दिनुपर्ने व्यवस्था गरेको छ। यस्तो छुट निश्चित रुट, कोटा वा दिनमा सीमित गर्न नपाइने र सहुलियत लिन सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ।
त्यस्तै, लामो दूरीका रात्रिकालीन बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने तथा चालक र सहचालकले परिचयपत्र वा पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
तोकिएकोभन्दा बढी भाडा असुल गरे कारबाही गरिने विभागले चेतावनी दिएको छ। यात्रुले बढी भाडा लिएको गुनासो हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा गर्न सक्नेछन्।
मालवाहक सवारीको भाडा पनि निर्धारण
विभागले मालवाहक ट्रकको भाडादरसमेत समायोजन गरेको छ। तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी सडकमा १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
निर्धारित दरअनुसार वीरगञ्ज–काठमाडौं सडकखण्डमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौं सडकखण्डमा ३२ हजार १४१ रुपैयाँ तोकिएको विभागले जनाएको छ।