काठमाडौं । नेकपा (एमाले) का सूर्य थापाले पार्टीमा कथित पूनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गर्नु गलत भएको टिप्पणी गरेका छन् । हिजोमात्रै पार्टीका सचिव योगेश भट्टराईले पार्टी पूनर्गठन गरिनुपर्ने धारणा राखेका थिए । जवाफमा थापाले यो सार्वजनिक खपतको लागि रोइलो भनेर भनेका छन् ।
जेन–जी आन्दोलनपछि एमालेमा पनि पार्टी नेतृत्व र पुस्तान्तरणको बहस चुलिएको छ। अध्यक्ष केपी शर्मा ओली भने यतिवेला भक्तपुरको गुण्डुमा भाडाको घरमा बसेका छन् । उनी त्यही भाडाको घरबाट राजनीतिक भेटवार्तामा सक्रिय छन् । यही सन्दर्भमा योगेशलगायतका नेताले पार्टीमा रुपान्तरणको लागि बहस छेडेका छन् ।
थापाले भने जेन–जीलाई मोहरा बनाएर मच्चाईएको हत्या, आगजानी र अपमान किमार्थ अनुकरणीय नभएको दाबी गरेका छन् । अध्यक्ष ओलीले आफूविरुद्ध देशी तथा विदेशी घेराबन्दी भएको र नेपाललाई असफल बनाउने खेल भैरहेको भन्दै कार्यकर्ता पँक्तिलाई चनाखो हुन अपिल गरेका छन् ।