योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

27 July, 2026 50 Views
योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी
50

सामाजिक सञ्जालमा गायक अशोक दर्जीलाई कुटपिट गरिएको भिडिओ सार्वजनिक भएपछि उनले आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै गायक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदनसमेत सार्वजनिक भएको छ ।

अभियन्ता विनयजंग कुँवर र पूजा कुँवरले हिजो राति केही सेकेन्ड लामो उक्त भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनीहरूले भिडिओको स्रोत खुलाएका छैनन् । उनीहरूले अशोक खराब संगतमा परेको दाबी गरेका छन् ।

सार्वजनिक भिडिओमा केही व्यक्तिले अशोकलाई घेरेर कुटपिट गरेको र पैसाको लेनदेनका विषयमा आरोप लगाएको देखिन्छ ।

तर, अशोक दर्जीले भने उक्त घटना करिब एक महिनाअघि आफूलाई योजनाबद्ध रूपमा फसाउन गरिएको ‘ट्र्याप’ भएको दाबी गरेका छन् ।

उनले प्रहरीमा दिएको निवेदनअनुसार, करिब एक महिनाअघि बिर्तामोडस्थित मावली घर गएको समयमा महानन्द चोकनजिकै साथीहरूसँग खाजा खाइरहेका थिए । सोही क्रममा ‘अङ्कित’ नामका साथीले ‘काजी दाइ’सँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख छ ।

घटनाको करिब एक सातापछि देवीबस्ती गेटनजिक स्कुटीमा पेट्रोल हालिरहेको अवस्थामा अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भनिने व्यक्तिले आफूलाई घेरेको दर्जीले बताएका छन् ।

उनीहरूले १ हजार रुपैयाँ चोरी गरेको आरोप लगाउँदै कुटपिट गरेको र सोही क्रममा मोबाइलबाट भिडिओ खिचेको उनको निवेदनमा उल्लेख छ ।

दर्जीले उक्त भिडिओ नियोजित रूपमा बनाएर सामाजिक सञ्जालमा फैलाइएको र त्यसबाट आफ्नो सामाजिक प्रतिष्ठा तथा भविष्यमा असर परेको दाबी गरेका छन् । भिडिओ हटाउन पटक–पटक आग्रह गर्दा आफूलाई धम्कीसमेत दिइएको उनको गुनासो छ ।

‘मेरो सामाजिक प्रतिष्ठा र भविष्यमाथि गम्भीर चोट पुर्‍याइएको छ । ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरियोस् र मलाई न्याय दिलाइयोस्,’ उनले निवेदनमा माग गरेका छन् ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अशोक दर्जीको अवस्थाप्रति चिन्ता व्यक्त भइरहेको छ । भिडिओमा उनी डराएको र निरीह अवस्थामा देखिएका छन् ।

सानै उमेरमा चर्चामा आएका कलाकारलाई संरक्षण गर्नुको सट्टा दुर्व्यवहार गरिएको भन्दै धेरैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् ।

अशोक दर्जी सानै उमेरमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई संरक्षण गरेका थिए । टंक बुढाथोकीको संगीतमा अशोकले गाएको ‘मन बिनाको धन’ गीत चर्चित बनेको थियो ।

हालै उनी टंक बुढाथोकीको साथ छोडेर परिवारमा फर्किएका छन् । अशोक दर्जीले गायनसँगै चलचित्रमा पनि काम गरिरहेका छन् ।

Related Post