सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी

सेयर गर्नुहोस्

भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन् ।

चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको थियो । तर उनका पतिसहितले आत्महत्याबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् ।

स्थानीय अनिल तामाङले डोरी हाल्नै नसक्ने ठाउँंमा डोरी हालेर आत्महत्या गरेको भनी प्रहरीले जनाएको बताए । अनुहार सुन्निएको, शरीरका विभिन्न भागमा निलडाम परेकोलगायतका कारण आत्महत्या नभई कुटपिटबाट हत्या भएको आशंका लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए ।

मृतकका पतिले झुन्डिएको लास हेर्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा लासको डोरी काटिसकिएको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झगडा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कुटपिट पनि हुन्थ्यो ।

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट आत्महत्या भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *