विभागीय डर्बीः पुलिस र एपीएफले अंक बाँडे

सेयर गर्नुहोस्

खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए । एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे । यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए ।

खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल गर्‍याे । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने माैका पाएकाे हाे ।

एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पाए ।  एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए । उनले पाँच हजार पाए ।

बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औं स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ । आजै हुने १२औं चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगको १२औं चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ । यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *