छोरी र भतिजाको नै साथ पाएनन् कमल थापाले, अझै लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्य

सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् ।

गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यका छोरी र भतिजाले नै साथ नदिएका हुन् ।

गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा र भतिजा अभिषेक थापाले लिङ्देन नेतृत्वको राप्रपाबाट अझै राजीनामा दिएका छैनन्, राजिनामा नदिएका कारण छोरी र भतिजा अझै पनि लिङ्देन नेतृत्वको राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा कायमै छन् ।

‘ठूलो बुबा (कमल थापा) ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि हामीले औपचारिक रूपमा राप्रपा छाडेका छैनाैँ । राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं,’ अभिषेकले न्युज कारखानासँग भने, ‘भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेका छौं ।’

उनका अनुसार भोलिदेखि सुरु हुने राप्रपा केन्द्रीय समिति बैठकमा उपस्थिति हुने नहुनेदेखि धारणा राख्नेबारेमा औपचारिक निर्णय भने अझै भइसकेको छैन ।

यसैगरी, थापाको प्यानलवाट विजयी भएका उपाध्यक्ष बुद्धीमान तामाङ, रोशन कार्की, धु्रबहादुर प्रधान, महामन्त्रीद्वय कुन्ती शाही र भुवन पाठकलगायतले उनलाई ‘नैतिक समर्थन’ जनाए पनि राप्रपा भने अझै परित्याग गरिसकेका छैनन् ।

यसबारेमा थापाले शीर्ष नेतृत्वसँग आजै अनौपचारिक कुराकानी गर्ने बुझिएको छ । महाधिवेशनमा पराजित भएका थापाले गत २५ माघ गते लिङ्देन नेतृत्वको पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेको दुई साता नाघिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *