काठमाडौं, १३ पुस
लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा निर्धारित २० ओभको खेल ‘टाइ’ भएपछि खेलको नतिजा ‘सुपर ओभर’मा आएको थियो ।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० रनको लक्ष्य दियो । २८ वर्षीय श्रीलंकाका मालिन्थाले सुपर ओभरमा दुई छक्का हिर्काएका थिए । बलिङमा फार वेस्टका करण केसीले १९ रन खाए । प्रत्युत्तरमा ब्याटिङ गर्न आएको फार वेस्टले १० रन मात्र बनाउन सक्यो । जितसँगै लुम्बिनी अपराजित यात्रा चौथो खेलमा पुर्याएको छ । लुम्बिनी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । फार वेस्टको दुई खेलमा दुई अंक छ ।
एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा आठ विकेट गुमाउँदै एक सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । लुम्बिनीका ओपनर लाहिरु मालिन्थाले २० बलमा सर्वाधिक ३४ रन बनाएका थिए । विपुर शर्माले २७ बलमा ३१ रनको योगदान गरे । यसबाहेक गुल्शन झाले २४ बलमा ३६ रन बनाएका थिए । मध्यक्रमका ब्याट्सम्यानले कमजोर प्रदर्शन गरेपछि लुम्बिनीको इनिङ सोचेजस्तो रहेन । ओपनर सुनिल धमला तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेल शून्यमा पेभिलियन फर्किएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी ४ र अनिल शाह ९ रनमा आउट भए ।
बलिङतर्फ फार वेस्टका सादले करण केसी र शेर मल्लले समान २ विकेट लिएका थिए । यसैगरी रसिद खान, अमैर अली, हस्मतउल्लाह शाहीदी र भुवन कार्कीले समान एक विकेट लिन सफल भए ।
यस अघि टस हारेर ब्याटिङका गरेको फार वेस्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर देव खनाल र हासिम अन्सारीले ४४ रनको साझेदारी गरेका थिए । देवले ४२ बलमा ४८ रन बनाएका थिए । हासिमले २३ बलमा ११ रन बनाए । कप्तान हज्मतुल्लाह साहिदीले २९ बलमा ३२ रन जोडेका थिए । यसबाहेक हसिम अन्सारीले ११, भिम सार्कीले १५, विनोद भण्डारीले ११ र करण केसीले १२ रन बनाएका थिए ।
लुम्बिनीका साड्ले भान स्खाक्विनले दुई विकेट लिए । यसैगरी सागर ढकाल, हर्मित सिंह र किशोर महतोले समान एक विकेट लिन सफल भए । आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।