लिफ्टिङ खानेपानी योजना शिलान्यास

सेयर गर्नुहोस्

खोटाङ, २४ पुस
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो । शनिबार लफ्याङमा साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन् ।

साप्सु खोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ८५ परिवालाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ (भ्याट तथा पिएस सहित) मा मृत सञ्जिवनी–सगरमाथा जेभी, काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ ।

निर्माण कम्पनीले आगामी ०८२ भदौ ४ गतेसम्मा सम्पन्न गर्नेगरी ०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो । मृत सञ्जिवनी–सगरमाथा जेभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ । खानेपानीको बढ्दो समस्या समाधानका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए ।

लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, एक वटा कार्यालय भवन, एक वटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने छ । यस्तै, १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाईनको काम हुने मृत सञ्जिवनी–सगरमाथा जेभीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए । ६ वटा ट्यांकीमार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजना सहित लिफ्टिङको काम अघि बढाइएको हो ।

हालसम्म कट्वाल गाउँमा सय घनमिटरको ट्यांकी, देविस्थानमा कार्यालय, खोलाभन्दा केहीमाथि ट्रिटमेन्ट प्लान्ट प्लान्ट, आरभिटी ट्यांक, गार्डहाउस लगायतका संरचना बनिरहेको इन्जिनियर रजकले बताए । आयोजनाबाट बाम्राङका ५६३, खाल्लेका ७८९ र लफ्याङका ७३२ घरधुरी लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *