दुर्गा प्रसाइँ र युवा संघको काठमाडौं प्रदर्शनबारे गृह मन्त्रालयमा सुरक्षा अधिकारीबीच छलफल

सेयर गर्नुहोस्

३ मंसिर, काठमाडौं । एमालेको युवा संघ र विवादित व्यवसायी दुर्गा प्रसाईं समूहले काठमाडौंमा गर्ने प्रदर्शनको विषयलाई लिएर गृह मन्त्रालयमा सुरक्षा अधिकारीबीच छलफल भएको छ । सो दिन उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको हो । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।

मंसिर ७ गते दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान र एमाले युवा संघले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एक जना उच्च सुरक्षा अधिकृतले जानकार दिएका छन् । बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।

युवा संघ र मेडिकल व्यवसायी प्रसाईं समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आंकलन गरिएको छ । विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘वृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ ।

यसै दिन नेकपा एमालेको युवा संघले पनि काठमाडौंमा प्रदर्शन राखेको छ । युवा संघले गर्ने प्रदर्शनका बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आवश्यक निर्देशन दिएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिँदै युवा संघलाई भद्र भएर प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसीर ७ गते काठमाडौंमा हुन गईरहेको प्रर्दशनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताएका थिए । पार्टीको जनसंगठन संयन्त्रले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरेका थिए ।

उनले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मंसिर ७ गते युवा(विद्यार्थीको प्रदर्शन गर्न लागेको बताएका छन् । उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा(विद्यार्थीहरूलाई निर्देशन दिएका छन् । ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको बताएका छन् ।

प्रसाईंनिकट व्यक्तिहरूले मंसिर ७ गतेको प्रदर्शनमा देशभरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने दाबी गरेका छन् । डेढ लाख हिजोआज नै काठमाडौं भित्रिसके, ७ गतेसम्म १५ लाख मान्छे काठमाडौँमा उत्रिसक्छन्, प्रसाईंका नातेदार समेत रहेका झापाका दीपेश प्रसाईंले भने, हाम्रो अभियानसँग भारतमा रहेका नेपाली समेत आएर सहभागी हुँदैछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *