इजरायलबाट बेपत्ता भएका कञ्चनपुरका विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सकुशल भेटिए

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । इजरायलबाट बेपत्ता भएका कञ्चनपुरका विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेको अनुमान यसअघि गरिएको थियो ।नेपाली राजदूतावास इजरायलले एक विज्ञप्ति जारी गर्दै ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुजमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्, तथापि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ, भनिएको छ ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो ।

नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो । हालै परराष्ट्रमन्त्री साउद कञ्चनपुर गएका बेला विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *