टिकटक विरुद्धका रिट हेर्न नभ्याइने सूचीमा

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धका रिट हेर्न नभ्याइने सूचीमा राखेको छ । मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको थिए ।

न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । दश वटै रिट लगाउमा राखेर एउटै इजलासमा एकसाथ सुनुवाइको व्यवस्था गरिएको छ ।टिकटकमाथिको प्रतिबन्ध विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषदको निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए । छठको बिदाका कारण आजको पेसी तोकिएका १० रिट प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश चुडालको इजलासमा परे पनि इजलास बस्न नसकेपछि हेर्न नभ्याइने सूचीमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *