४ मंसिर, काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।
त्यो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।