भुटानी शरणार्थी प्रकरण : १६ जना अभियुक्तका पुनरावेदन रिटमाथि आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ

सेयर गर्नुहोस्

५ मंसिर, काठमाडौं । उच्च अदालत पाटनमा आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका १४ जना अभियुक्तका तर्फबाट दिएका पुनरावेदन रिट र २ जनालाई थुनामा पठाउनुपर्ने सरकारी वकिलको कार्यालयले पेस गरेका रिटमाथि सुनुवाइ हुँदैछ । पटक–पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन नसकेका रिटमाथि मंगबारबाट सुनुवाइ हुन लागेको हो । मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका थिए । त्यस्तै, धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा रिट हालेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् ।  खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि थुनामै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *