वर्षाका कारण यु–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेल रद्द

सेयर गर्नुहोस्

२ पौष, काठमाडौं । यु–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम तथा दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, जवाफमा भारतले ३।१ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले खेल अवरुद्ध हुन पुगेको थियो। वर्षा नरोकिएपछि थप खेल हुन सकेन र खेल रद्द हुँदा दुवै टिमले १–१ अङ्क बाँडेका छन्। अङ्कतालिकामा दुवै टिमको समान ३–३ अङ्क भए पनि नेट रनरेटमा अघि रहँदै भारत शीर्ष स्थानमा रह्यो। वर्षा हुनुअघि भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी थिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी आयुषी शुक्लाद्वारा रनआउट भएकी थिइन्। त्यस्तै, थप दोहोरो स्कोरका रुपमा अलिशा कुमारी यादवले ९ बलमा २० रनको सानदार अविजित इनिङ्स खेलिन्। अन्यको प्रदर्शन भने गतिलो रहेन। भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिँदा अन्नदिता किशोर र मिथिलाले १–१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो भने भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो।
नेपालले अब सुपर चारको पहिलो खेलमा बिहीबार श्रीलंकासँग ११ः४५ मा प्रतिस्पर्धा गर्दै छ। त्यस्तै, अर्को खेलमा बंगलादेशसँग शुक्रबार ११ः४५ मा भिड्ने छ। त्यस्तै, भारत र बंगलादेश तथा श्रीलंका र भारतबीच पनि खेल हुनेछ। यो खेलको नतिजापछि शीर्ष २ मा रहने टिमबीच आइतबार प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *