सन्दीपमाथि क्यानको कारवाहीः तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक घरेलु खेलमा प्रतिबन्ध

सेयर गर्नुहोस्

८ माघ,काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र स्टार खेलाडी सन्दीप लामिछानेबीच असमझदारी एवं टकरावको अप्रिय स्थिति देखा परेको छ । एउटा फेसबुक स्टाटसलाई लिएर सन्दीप क्यानको कारवाहीमा परेका छन् ।

विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीप अम्पायरसँग बिवादमा उत्रीएका थिए ।

अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो । अर्को टीम (त्रिभुवन आर्मी) लाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको गुनासो उनले गरेका थिए ।दोस्रो इनिङमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बागमती सकेसम्म कम विकेट गुमाएर खेल ‘ड्र’ गर्ने रणनीतिमा थियो । २८.४ ओभरमा पाँचौ विकेटका रूपमा शुभ कंसाकार आउट भएलगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरे । दुवै टीम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा बागमतीलाई प्वाइन्टमा घाटा लाग्यो ।

सन्दीपले कम ‘भिजिविलिटी’का कारण केही ओभर अगाडि नै खेल समाप्ति होस् भन्ने चाहेका थिए, जतिबेला शुभ कंसाकार र उत्तम मगरको जोडी क्रिजमा थियो । तर, विकेट नजाँदासम्म अम्पायरले खेललाई निरन्तरता दिएको सन्दीपको आरोप छ । विकेट जानासाथ ओभर पनि पूरा नगरी खेल समाप्त गरिएकोमा उनले आपत्ति जनाएका थिए ।

प्रतियोगितामा एक-एक प्वाइन्टको निकै महत्व थियो । थप एक विकेट जाँदा पनि प्वाइन्टमा असर गर्ने भएकाले सन्दीपको असन्तुष्टि र ‘अन फिल्ड प्रोटेस्ट’ अस्वभाविक थिएन । तर, त्यसको भोलिपल्ट फेसबुकमा लेखेको स्टाटसलाई क्यानले स्वभाविकरूपमा लिएन ।स्टाटसमा सन्दीपले कुनै खेलको सन्दर्भ उल्लेख गरेका छैनन् । कोही अम्पायरको नाम तोकेर आरोपित पनि गरेका छैनन् । तर, एउटा राष्ट्रिय खेलाडीले यसरी सामाजिक सञ्जालबाट अम्पायरको आलोचना गर्न नमिल्ने क्यान पदाधिकारीको भनाइ छ । समर्थकहरू भने सन्दीपको पक्ष-विपक्षमा बाँडिएका छन् । बहुसंख्यकले सन्दीपको स्टाटस नेपाली क्रिकेटकै हितका लागि भएको भन्दै उनीप्रति समर्थन जनाएको पाइन्छ । कतिपयले उनको नियत गलत नभए पनि सामाजिक सञ्जालमै लेख्नु उचित नभएको धारणा राखिरहेका छन् ।

उक्त दिनको खेलपश्चात म्याच अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए । उक्त निर्णयमा सन्दीपले असन्तुष्टि जनाए । एक ‘डिमेरिट प्वाइन्ट’ मा आपत्ति नरहेको तर एकैपटक तीन डिमेरिट प्वाइन्ट दिनु स्वीकार्य नहुने उनको भनाइ थियो । सन्दीपले अम्पायरसँग माफि पनि मागेका  थिए । यद्यपि, अम्पायरले उनको याचना स्वीकार गरेनन् र तीन डिमेरिट प्वाइन्टकै निर्णय लिए । निर्णयमा सन्दीपले हस्ताक्षर गर्न मानेनन् । उक्त निर्णय क्यानमा पठाइयो ।

अम्पायरको रिपोर्ट र खेलाडी आचार संहिताको हवाला दिँदै क्यानले सन्दीपलाई तीन डिमेरिट प्वाइन्ट र एक घरेलु म्याचमा प्रतिवन्धको निर्णय लियो । क्यानको खेलाडी आचार संहिताको धारा २.७ मा सेन्ट्रल कन्ट्राक्टमा रहेका खेलाडीहरूलाई क्यानका पदाधिकारी, अफिसियल तथा अम्पायरहरूविरुद्ध लेख्न रोक लगाइएको छ । सोही धाराअनुसार तत्कालै निर्णय भएको क्यान प्रवक्ता छुम्बी लामा बताउँछन् ।

‘क्यानले आचार संहिता र म्याच अफिसियलहरूको रिपोर्टका आधारमा निर्णय गरेको र  कुनै पनि पूर्वाग्रह नराखिएको  लामाले  बताएका छन ।

क्यानको कारवाही अनुसार सन्दीपले अब निकट भविष्यमा हुने पहिलो घरेलु म्याच गुमाउनुपर्ने छ । क्यानले अहिलेसम्म सन्दीपलाई कारवाहीको निर्णय सार्वजनिक भने गरेको छैन ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई गत शुक्रबार ४:३२ मा इमेल पठाएर कारवाहीको निर्णयबारे जानकारी गराउनुका साथै स्पष्टीकरण पनि सोधेका थिए । त्यो इमेल आउनुभन्दा अगाडि सन्दीपले अरु नै प्रसंगमा पारसलाई फोन गर्दा उनले फोन उठाएका थिएनन  बरु एकछिनपछि – ‘चेक योर इमेल ।’  लेखिएको पारसको   मेसेज आएको र उनले इमेल चेक गर्दा कारवाहीको पत्र देखेको लामिछाने निकट स्रोतले जनाएको छ ।

त्यसको भोलिपल्ट शनिबार ३:१९ मा सन्दीपले सोही इमेलमा स्पष्टीकरणको जवाफ पठाएको निकट स्रोतको भनाइ छ । क्यानको इमेलबाट आएको पत्रमा अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई ‘सीसी’ गरिएको थियो । सन्दीपले आफ्नो जवाफी इमेल पनि उनीहरू सबैलाई पठाएको स्रोत बताउँछ ।सन्दीपले आफ्नो जवाफी पत्रमा कारवाहीको निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका बताइएको छ ।

‘मैले अनुशासन उल्लंघनको कुनै पनि क्रियाकलाप गरेको छैन । अम्पायरहरूसँग एपोलोजी पनि मागिसकेको छु । मलाई गरिएको कारवाही अन्यायपूर्ण छ । एक डिमेरिट प्वाइन्ट स्वीकार्न सक्थेँ, तर एकैपटक तीन डिमेरिट प्वाइन्ट मञ्जुर छैन । यो निर्णय सच्याइयोस,’ सन्दीपले अंग्रेजीमा लेखेको जवाफको भाव उद्धृत गर्दै स्रोतले बताएको छ  ।

उक्त इमेल पठाएर सन्दीपले चतुर र पारस दुवैलाई म्यासेज पनि गरेको स्रोतले बतायो । यद्यपि, उनीहरू दुवैले स्पष्टीकरणको जवाफ नआएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *