२० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी छन् । उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ । बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । चौधरीमाथि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी नवरन्त पौडेलले बताए । उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ । चौधरीले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका थिए ।