४ पौष,काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट एकअर्का बिरुद्ध भिड्दै छन्। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ।
तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो। यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो। त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो।